३२ जेठ काठमाडौ । गोरखा, चितवन, तनहुँ, लमजुङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरुको बैठक मंगलवार पालुङटारमा बसेको छ । चार जिल्लाबिचको अन्तरजिल्ला सुरक्षा समितिको बैठक मंगलवार पालुङटारको ठाँटीपोखरीमा बसेको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले जानकारी दिनुभयो ।
बैठक चारवटै जिल्लाको सीमा क्षेत्रमा हुन सक्ने विभिन्न घटनामा केन्द्रित रहेको उहाँको भनाई छ । बैठकमा लागूऔषध, हातहतियार, वनपैदावार, संरक्षित वन्यजन्तु लगायतको अन्तरजिल्ला ओसारपसारलाई नियन्त्रण गर्ने, विपद् ब्यवस्थापनका लागि सहकार्य गर्ने लगायतका निर्णय भएको छ ।
एउटा जिल्लामा विपद्को घटना भएमा छिमेकी जिल्लाको नजिकको प्रहरी इकाईले उद्धार लगायतको काम गर्ने पनि बैठकले निर्णय गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिनुभयो । फरक जिल्ला भनेर वारिपटिको प्रहरीले हेर्दै नहेर्ने भन्ने अब हुँदैन' उहाँले भन्नुभयो, 'जिल्ला जुनसुकै होस् नजिकको प्रहरी इकाईबाट उद्धारका लागि जान्छन्, प्रयोग भएको उद्धार सामग्रीको सोधभर्ना चाहिँ घटना भएको जिल्लाले गर्छ । राजमार्गको सुरक्षा र सवारी आवागमन ब्यवस्थित गर्ने, अन्तरजिल्लाको सार्वजनिक यातायातको भाडादर निर्धारणमा सहकार्य, एक अर्काले गरेका असल अभ्यासको आदानप्रदान गर्ने पनि चारवटै जिल्लाका सुरक्षा समिति प्रमुखबिच निर्णय भएको उहाँले बताउनुभयो ।