२ जेठ काठमाडाै । चितवनमा तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् ।तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ सम्पन्न भएको हो । प्रशिक्षणबाट लोप हुँदै गएको तामाङ भाषा संरक्षणमा थोरै भए पनि टेवा पुगेको तामाङ पत्रकार सङ्घ चितवनका अध्यक्ष बबिलाल तामाङले जानकारी दिनुभयो ।
भाषा प्रशिक्षण कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भाषा संरक्षण अबका पुस्तालाई चुनौतीको विषय बन्दै गएको बताउनुभयो ।नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष महेन्द्र दुराले चितवनमा तामाङ भाषा कक्षा सञ्चालन गरेर अन्य जातिलाई समेत प्रेरणा दिलाउने काम गरेको बताउनुभयो ।
प्रशिक्षणमा सहभागी तीनजनालाई तामाङ जातिको टोपी लगाएर सम्मानसमेत गरिएको थियो । चितवनका पत्रकारद्वय सूर्यप्रकाश कँडेल र प्रेम कँडेल तथा त्रिचोक निवासी हिमाल कँडेलले एक हप्तासम्म नियमित सहभागी भएर तामाङ भाषा सिकेका थिए । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिम अवधिभर अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिनुभएको थियो ।