५ असार काठमाडौ । पशुपतिनाथ मन्दिरमा नियमित रुपमा चोरी हुने गरेको तथ्य सार्वजनिक भएको छ । साढे चार महिनाअघि दानपेटिका हराएको घटनाबारे छानबिन गर्न गठन भएको टोलीले मन्दिर परिसरबाट भक्तजनहरुले चढाउने भेटी, सुन, हिरा, मोतीजस्ता मूल्यवान् सामान नियमित रुपमा चोरी हुने गरेको तथ्यको खुलासा गरेको हो ।
मन्दिरमा भक्तजनहरुले चढाउने भेटी चोर्नकै लागि मन्दिर परिसरमा राखिएका सीसीटिभीको तार चुँडाउने गरेको तथ्यसमेत छानबिन टोलीले सार्वजनिक गरेको छ ।पशुपति मन्दिर परिसरमा नियमित चोरी भइरहेको तथ्य सार्वजनिक भए पनि हालसम्म चोरको टुंगो भने लाग्न सकेको छैन । २४सै घण्टा सीसीटिभी र प्रहरीको निगरानीमा रहने पशुपति मन्दिर परिसरबाटै दानपेटिका र भक्तजनहरुले चढाएको बहुमूल्य भेटी कसरी चोरी भयो ? भन्ने प्रश्न यतिबेला टड्कारो बनेको छ ।
२०७९ साल माघ १३ गते पशुपतिनाथको दैनिक आरतिपछि मन्दिरको पश्चिम ढोकाको दानपेटिका फूल केलाउने कक्षमा राखिएको थियो । अर्को दिन पश्चिम ढोका अगाडि अर्को खाली घ्याम्पो (दानपेटिका) पनि राखिएको थियो । तर, अघिल्लो दिन भेटी संकलनपछि फूल केलाउने कक्षमा राखिएको टानपेटिका गायब थियो । अघिल्ला दिनका दानपेटिकाहरु निकालेर गणना गर्न खोज्दा अघिल्लो दिन राखेको घ्याम्पो हराएको भेटिएको थियो ।