५ असार काठमाडौ ।गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको आँबुखैरेनी गाउँपालिका २ र ५ को सिमानामा रहेको ऐनापहरा झरनामा पर्यटकको भिड लाग्ने गरेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भिड लाग्ने गरेको हो ।गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको यस झरनामा पर्यटकको सधैँ भिड लाग्ने भएकाले थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा भगवान्का आकृति बनाउन सुरु गरेको छ । ऐनापहरालाई थप आकर्षक बनाई पर्यटकलाई लोभ्याउन प्राकृतिक ढुङ्गामा भगवान्को आकृति कुँद्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
कालिगड यतिबेला ढुङ्गामा भगवान्का आकृति कुँद्न व्यस्त भएका छन् । गाउँपालिकाले स्थानीय कालिगडलाई काममा लगाएको हो । चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपियाँको लागतमा ढुङ्गामा आकृति बनाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानले भन्नुभयो, “तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखी पहरोमा आकृति बनाउने काम भइरहेको छ ।
काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गर्छन् । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रूपमा पनि ऐनापहरा झरना विकास भइरहेको पर्यटकलाई नयाँपन दिन ढुङ्गामा आकृति बनाउन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । झरना धेरै ठाउँमा छन् तर ऐनापहरा झरनालाई अन्य ठाउँको भन्दा पृथक् पहिचान दिन आकृति बनाउन लागेको उहाँले बताउनुभयो ।
तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन विस्तृत गुरुयोजना तयार भएको गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार १० करोड रुपियाँ बजेट आवश्यक पर्छ । डिपिआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । बहुवर्षीय योजना अन्तर्गत साहसिक खेल, सिसाको पुल, जिपलाइन, स्विमिङ पुल, ढुङ्गामा आकर्षक मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।