१३ असार काठमाडाै । गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिकाले अनुदान दिएपछि करिब एक हजार रोपनी बाँझो जमिनमा किसानहरुले खेती गर्ने सुरु गरेका छन् । गाउँपालिकाले किसानलाई प्रोत्साहन स्वरुप अनुदान रकम उपलब्ध गराउन थालेपछि पालिका भित्र बाँझो रहेका करिब १ हजार रोपनी जमिनमा खेती गर्न थालिएको छ । गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रति रोपनी ३ हजार रुपैयासम्म अनुदान रकम उपलब्ध गराउन सुरु गरेसंगै बाँझो जमिनमा खेती गर्ने क्रम बढेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र तीन बर्षको अबधीमा अहिलेसम्म ९ सय ३८ रोपनी बाँझो जमिनमा किसानहरुले खेती गर्न सुरु गरेको अध्यक्ष भट्टले बताउनुभयो । आर्थिक बर्ष ०७७ र ०७८ देखि गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानका लागि अनुदान दिन सुरु गरेको अध्यक्ष भट्टले भन्नुभयो । अनुदान कार्यक्रम सुरु गर्नु अघि गाउँपालिकाले पालिका भित्र रहेका बाँझो जग्गाको लगत संकलनको काम गरेको थियो ।
कृषि उत्पादनमा पालिकालाई आत्मानिर्भर बनाउन र कृषि पेशामार्फत गाउँमा नै स्वरोजगारीको सिर्जना गर्न गाउँपालिकाले पालिका भित्र रहेका बाँझो जमिनलाई उपयोगमा ल्याउने पालिकाको उद्देस्य पनि पुरा भएको छ । गाउँपालिकाले बाली र प्रकृति हेरी प्रोत्साहन बापतको अनुदान रकम उपलब्ध गराउने गरेको पालिका अध्यक्षकाे भनाई छ ।
खाद्य र तरकारी बाली खेती गर्नेलाई प्रति रोपनी तीनहजार रुपैयाँसम्म, मसला बालीलाई खेती गर्नेलाई प्रतिरोपनी दुईहजार पाँचसय रुपैयासम्म र फलफूल बाली लगाउने कृषक, कृषि समुह वा फर्मलाई प्रतिरोपनी दुईहजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउदै आएको उहाँले जानकारी दिनुभयो । कार्यबिधिमा आफ्नो बाँझो जग्गाको बारेमा जानकारी नगराउने किसानलाई प्रति रोपनी २ सय रुपैया जरिवाना तिराउने व्यवस्था समेत गरिएको छ ।कृषक छनोट प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था रहेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयोे ।