२१ मंसिर काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रघाती भएको बताएका छन् । ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा ८औँ दिन बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोखेका छन् ।
देशमा अराजकता बढाउने, गैर राजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने ,सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ अध्यक्ष ओलीकाे भनाइ छ ।
बुधबार बागलुङकै बुर्तिवाङमा आयोजित सभामा ‘राजनीतिबाट माथि उठेर विकासमा लाग्न’ कार्यकर्ता र अन्य राजनीतिक शक्तिलाई आह्वान गरेका ओली भोलिपल्टै सत्ता गठबन्धनप्रति आक्रामक देखिएका हुन् । ‘जहाँ–जहाँ सडक बनेका छैनन् त्यहाँ काँग्रेसले ठेक्का लिएको छ’ ओलीले भने, ‘सरकार त विकास गर्न नसक्ने लुते नै भयो ।’
ओलीले भने, ‘न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’ ओलीले मिसन-०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे ।उनले ऋणी र बचतकर्ता नभएसम्म बैंक बन्द हुने कुरा हेक्का राख्न सञ्चालकलाई चेतावनी दिए ।