१३ माघ काठमाडौँ ।नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने बताएको हो ।
कांग्रेसको केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।उक्त अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडामा प्रतिनिधि खटिँदैछन् ।
पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू समेत गाउँ–गाउँ पुग्ने र जनताका समस्या, गुनासा र सुझाव सुन्ने कार्यक्रम तय भएका छन् ।जनताबाट प्राप्त सुझावलाई केन्द्रीय तहका सरकारमा पुर्याउने, पार्टी सरकारमा रहेका ठाउँमा सरकारको नीति कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने र प्रतिपक्षमा रहेका ठाउँमा समाधानका लागि पहलकदमी लिने काम गर्ने भएको छ ।
अभियानले संविधानको भावनाअनुसार समुदायका बिचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी जनसंवाद र छलफल गर्ने कांग्रेसले जनाएको छ ।