२२ चैत काठमाडौ । हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । शारीरिक अशक्त रहनुभएका उहाँका दुवै खुट्टा छैनन् । उहाँ कृत्रिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ ।
सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले पाँच वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाँले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताउनभयो ।
उहाँले भन्नुभयो, ‘पाँच वर्षको धेरै बाधा अड्चनपछि फाइनल्ली म सगरमाथातर्फ प्रस्थान गर्दैछु । शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई विश्वास गर्न धेरै सानातिना सगरमाथा चढ्नुपरेको छ । म धेरै खुसी छु, म मात्रै होइन, म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ । हिमाल चढ्न चाहनेलाई हिमाल चढाउनु ।
सन् २०१० मा अफगानिस्तानको लडाइँमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ ।