४ वैशाख काठमाडौँ । नेपालका राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलबिच शिष्टाचार भेटवार्ता भएको छ ।नेपाल भ्रमणमा रहेको मण्डलले सिंहदरवारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा आज गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया(नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ(हेओन ली नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो।भेटमा नेपाल(कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको थियो।
सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैँ उचाइमा पुर्याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए।
कोरियन सरकारले नेपालको जलविद्युत, कृषि, अटोमोबाइल्स लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै अध्यक्ष दाहालले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे।