Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मलेसिया जाने ७ लाख ३३ हजार कामदारबाट २ अर्ब ३१ करोड ठगी, चार जना पक्राउ

मलेसिया जाने ७ लाख ३३ हजार कामदारबाट २ अर्ब ३१ करोड ठगी, चार जना पक्राउ

जोईन खबर

१३, कार्तिक २०८३
  • 172
    SHARES
  • मलेसिया जाने ७ लाख ३३ हजार कामदारबाट २ अर्ब ३१ करोड ठगी, चार जना पक्राउ

    १२ कार्तिक काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा शुल्क असुलेर ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले चार जनालाई पक्राउ गरेको छ। म्याक्रोटेक प्रालिमार्फत बायो मेडिकल सर्भिस शुल्कका नाममा सन् २०१८ को अन्त्यदेखि सन् २०२३ सम्म ७ लाख ३३ हजार कामदारबाट २ अर्ब ३१ करोड ६२ लाख ८० हजार रुपैयाँ असुल गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    images

    पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौंको टोखा नगरपालिका–११ मा बस्दै आएका ४२ वर्षीय प्रवीण तिवारी, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी र सर्लाही घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ मा बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारी रहेका छन्।

    images
    images
    images

    सीआईबीका अनुसार उनीहरूले म्याक्रोटेक प्रालि नामक कम्पनीमार्फत मलेसिया जाने कामदारसँग गैरकानुनी रूपमा बायो मेडिकल सर्भिस शुल्क लिने गरेका थिए। मेडिकल स्क्रिनिङको नाममा कामदारलाई अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य पारेर उनीहरूबाट रकम असुलिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

    प्रहरीको अनुसन्धानअनुसार सन् २०१८ को अन्त्यदेखि आरोपीहरूले मलेसिया जाने प्रत्येक कामदारबाट १०० मलेसियन रिङ्गिटका दरले शुल्क लिने गरेका थिए। त्यसबेलाको विनिमय दरअनुसार प्रतिकामदार ३ हजार १६० रुपैयाँ असुल गरिएको प्रमाण फेला परेको सीआईबीले जनाएको छ।

    सन् २०१८ को अन्त्यदेखि सन् २०२३ सम्मको अवधिमा ७ लाख ३३ हजार कामदारबाट उक्त शुल्क संकलन गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। यसरी कामदारबाट कुल २ अर्ब ३१ करोड ६२ लाख ८० हजार रुपैयाँ गैरकानुनी रूपमा असुल गरिएको अनुसन्धानमा उल्लेख छ।

    यस प्रकरणमा सीआईबीले असोज २९ गते चारै जनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

    मलेसिया रोजगारीमा जाने कामदारले स्वास्थ्य परीक्षणलगायतका प्रक्रियामा अतिरिक्त आर्थिक भार बेहोर्नुपरेको विषयलाई यस घटनाले फेरि चर्चामा ल्याएको छ। यद्यपि, पक्राउ परेका व्यक्तिहरूमाथि लागेको आरोपको अन्तिम निरूपण भने न्यायिक प्रक्रियाबाट हुनेछ।

    प्रकाशित मिति :कार्तिक १३, २०८३ बिहिवार - ११:५०:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको