२ साउन काठमाडौँ । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना गम्भीर घाइते भएका छन् । पहिरोमा घाइते हुने कुशे गाउँपालिका वडा न ८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा घाइते भएका हुन्। घाइते भएकाहरुलाई ‘सीडीओसँग कुराकानी गरेर हेलिकप्टरबाट उद्धार गरि नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए ।
वडाध्यक्ष सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ । उनको होश आउने जाने भइरहेको छ भने निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ । ‘निरमायाको पहिले पनि खुट्टा अपरेशन गरेको रैछ । अहिले अर्को खुटमा पनि चोट लागेपछि हिँड्नै नसक्ने भएको बताए । गएराति करिब १० बजेको समयमा उनीहरु बसिरहेको ठाउँमा पहिरो गएको वडाध्यक्ष सिंहले जानकारी दिए ।
पहिरो जाँदै गर्दा खुट्टामा चोट लागेकी निरमायालाई टहराबाट निकाल्ने प्रयास गर्दा छिमेकी कल्पना पनि पहिरोको चपेटामा परेको सिंहले बताए । गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । उक्त भूकम्पले कुशे गाउँपालिका ७, ८, ९ लगायतका वडामा क्षति पु¥याएको थियो । बसेको घर भूकम्पले भत्काएपछि गाउँलेहरु अस्थायी टहरामा बसिरहेका छन् । अझै धेरै क्षति पुर्याउन सक्ने देखिन्छ ।