१२ कार्तिक काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
काठमाडौं गोर्खाजले जारी प्रतियोगितामा आज पहिलो खेल खेल्न लागेको हो। उता, जनकपुर बोल्ट्स भने आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। त्यसैले आजको खेलमा जनकपुर जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ भने काठमाडौं सुखद सुरुवात गर्ने प्रयासमा रहनेछ।
काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच यसअघि एनपिएलका दुई संस्करणमा दुई पटक प्रतिस्पर्धा भएको थियो। ती दुवै खेलमा दुवै टोलीले एक–एक जित निकालेका छन्। पहिलो संस्करणमा जनकपुर बोल्ट्स विजयी भएको थियो भने दोस्रो संस्करणमा काठमाडौं गोर्खाजले बाजी मारेको थियो।
पहिलो संस्करणमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ५ विकेटले पराजित गरेको थियो। उक्त खेलमा काठमाडौं १०१ रनमा अलआउट भएको थियो। जवाफमा जनकपुरले १५।५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।त्यस्तै, दोस्रो संस्करणमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो। उक्त खेलमा जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जवाफमा काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
यसअघिका भेटमा दुवै टोलीले एक–एक जित निकालेकाले आजको खेललाई प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। काठमाडौं पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा बलियो सुरुवात गर्न चाहन्छ भने जनकपुर अघिल्लो खेलको हार बिर्साउँदै जितको लयमा फर्कने प्रयासमा हुनेछ।
यसैबीच, आजको दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्। कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। विराटनगर भने पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो।आजको दोस्रो खेलमा कर्णाली आफ्नो जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रनेछ।