१५ साउन काठमाडौँ । ३९औँ वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत् प्राधिकरणले देशभरका वृक्षारोपण कार्यक्रम गरेको छ ।प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र र उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादन गृहमा कार्यरत कर्मचारीहरूले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षारोपण गरेका हुन् ।
कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेका छन् । प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षारोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो ।प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षारोपण गर्ने स्थान नभएका काठमाडौँ उपत्यकाभित्रका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले विभाग परिसरमा बिरुवा रोपी वृक्षारोपण कार्यको सुरुवात गरेका थिए । विद्युत् नियम आयोगका अध्यक्ष राम प्रसाद धिताल, विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल, प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य तथा रतन बहादुर ऐर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरूबाट बिरुवा रोपिएको छ ।
अम्बा, आँप, सुन्तला, हलुवाबेद, बेलपत्र लगायतका विभिन्न प्रजातिका एक सयभन्दा बढी बिरुवा रोपिएका छन् ।घिसिङले नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी अतिरिक्त भएको छिमेकी देशहरूमा निर्यात गर्न सफलता मिलिरहेको बताए ।