२३ साउन काठमाडौँ । नेपालको प्रधानमन्त्री केपी शर्मा ओली र युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोबिच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले विस्तृत शान्ति सम्झौताको मर्म, सर्वोच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय अभ्यास र पीडितका विषयलाई केन्द्रमा राखेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढ्ने प्रक्रियामा रहेको बताए ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र र मानव अधिकारको प्रत्याभूतिप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रही गरिबी निवारण र आर्थिक सामाजिक विकासमा क्रियाशील रहने स्पष्ट गरे ।