गोरखा जिल्ला, बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ ताकुकोटको मौलिक रुपमा मनाईने गाईजात्रा यस क्षेत्रको चर्चित जात्राहरु मध्य एक हो । नेवार समुदायले आफ्नो परिवारको मृतक सदस्यको सम्झना गाई निकालेर टोल समाज परिक्रमा गरिने भए पनि यस क्षेत्रका हरेक समुदाय र जातजातीको गाईजात्रामा भव्य सहभागिता रहने गरेको छ ।

ताकुकोटमा निकालिने यस जात्रामा प्रदर्शन गरिने नॅाचहरुमा घोडा नॅाच, चिरेदार, भोटे नॅाच, गाईनानी, घिन्ताङकसी(टाकटुके) आदि रहेका छन् । घोडा जुदाई, भोटे नॅाच्नेहरुको हास्य रुप र प्रदर्शनीलाई बिशेष रुचीले हेर्ने गरिन्छ । गाईजात्रा हर्न पालिका लगायत छिमेकी गाउॅपालिकाबाट समेत जात्रलुहरु ताकुकोट आईपुग्छन् । जात्राको अबसरमा हाट बजार समेत लाग्ने गर्दछ ।

गाईजात्राको भोलिपल्ट रोपाईं जात्रा समेत धुमधाम सॅग निकाल्ने गरिन्छ । पन्चेबाजाको तालमा बजार टोल परिक्रममा गर्दै रोपाई गरेको नॅाच देखाईन्छ, टाकटुके , छकडा नृत्य समेत प्रस्तुत गरिन्छ ।

ताकुकोटमा तीन वटा गुठीहरु सक्रिय रहेको छ । ताकुकोट नेवार गुठीमा कोटथोकमा बस्नुहुने नेवार समुदाय हुनुहुन्छ भने भिमसेन गुठीमा पाल्खु र बहाकोटको केहि नेवार समुदाय हुनुहुन्छ साथै भवानी नेवार समाजमा भन्ज्याङ, बहाकोट पाल्खु र पन्द्रुङको केहि नेवार समुदाय आवद्ध हुनुभएको छ । यी गुठीहरुको संयोजनमा आयोजना हुने जात्रामा त्यस क्षेत्रको हरेक समुदायको प्रत्यक्ष रुपमा नॅाचमा सहभागिता रहने गरेको छ ।

साठीको दशक सम्म गाईजात्रा र रोपाईं जात्रालाई यस क्षेत्रमा बसोबास गर्ने हरेक व्यक्तिले उत्सव र मनोरन्जनको प्रमुख माध्यम हुने गर्दथ्यो, नयॅा लुगा किन्ने , नयॅा लुगा किन्न असारको रोपाईंमा मेला जाने र पैसा जोहो गर्ने गरिन्थ्यो ।
गाउॅबाट हुने बसाईं सराईको चपेटामा गाउॅको मौलिक परम्पराहरु पर्ने गरेकोछ ।यस्ता जात्राहरु लाई निरन्तरता दिन जनशक्तीको अभाव देखिन थालेको छ ।तथापी ताकुकोटबाट चितवन, काठमाडौं बसाई सरेर जानुहुने नेवार समुदायले यसै प्रकृतिको जात्रा लाई आफ्नो बसोबास क्षेत्रमा निरन्तरता दिनुभएको छ ।


