२९ साउन काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरूमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको हो ।
चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन ९एएनपिआर० सहित चार सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न लागिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । यस कार्यको लागि छ वटा कम्पनीको बोलपत्र परेको छ ।महानगरपालिकाले रु १० करोड ८३ लाख बराबरको बजेटको बोलपत्र आह्वान गरेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले सहरी क्षेत्रमा धेरै र ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सिसी क्यामेरा जडान गर्न लागिएको बताइन ।
महानगरका सबै वडामा सिसी क्यामेरा जडान गर्दै छौँ ।ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ ।एकै ठाउँमा कन्ट्रोल रुम रहने गरी महानगर भरी उच्च प्रविधिका सिसी क्यामेरा जडान गर्न लागिएको प्रमुख दाहालको भनाइ छ ।बोलपत्रको टुंगो लागेपछि सकार्ने कम्पनीसँग सम्झौता गरेको चार महिनाभित्रमा काम सम्पन्न हुने दाहालको भनाइ छ ।
ढिलोमा यो आर्थिक वर्षभित्रमा महानगरका सबै वडामा सिसी क्यामेराको पहुँच पुराउने महानगरले जनाएको छ । महानगरले जडान गर्ने क्यामेराबाट यहाँको शान्ति सुरक्षा र अमन चयनमा सहयोग पुग्ने प्रहरी भनाइ छ ।