३० साउन काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीसहित सातजना दोषी ठहर भएका छन् । विशेष अदालतले आज उनीहरूलाई सजायसमेत सुनाएको छ।चंखेलीको वडा नं ३ को फिल्ड निर्माण योजनामा अनियमितता भएको भेटिए पछि प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढालाई प्रतिवादी बनाइएको थियो।साथै उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाविरुद्ध मुद्दा दायर भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० फागुन ०८० मा मुद्दा दायर गर्दा यसमा वडा नं ३ का अध्यक्ष शालिग्राम ऐडीसमेत प्रतिवादी कायम गरिएका थिए।आर्थिक वर्ष ०७४/७५ मा फिल्ड निर्माण कार्यको क्रममा भएकोभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गरी भुक्तानी गरिएको भेटिएको थियो। यस क्रममा ११ लाख ९४ हजार रुपैयाँ अनियमितता भएको थियो।
यसमा प्रतिवादी बनाइएका सबैलाई जनही तीन–तीन महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ। न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो।