२ भदौ काठमाडौँ । सोलुखुम्बुको थामेमा एक्कासी आएको बाढी परि शुक्रबारदेखि बेपत्ता भएका पुरुष सम्पर्कमा आएका छन् । बेपत्ता भएका ५५ वर्षीय ङिमा नुरू शेर्पा आइतबार बेलुका सम्पर्कमा आएका हुन्। यो हिमताल फुटेर आएको भीषण बाढीबाट कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ।
बाढीको दिनदेखि बेपत्ता रहेका उनलाई प्रहरीले खोजिरहेको थियो।आइतबार खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नो फेसबुक पेजमार्फत बेपत्ता शेर्पा सम्पर्कमा आएको जानकारी दिएको छ।हिमताल विस्फोट भएर आएको बाढीले खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ मा पर्ने थामे गाउँका विद्यालयसहित १४ घर पूर्ण रूपमा बगाएको छ भने गाउँलाई बगरमा परिणत गरिदिएको छ।
सो गाउँ पसेको बाढीले मानवीय क्षति भने गर्न नपाउँदा ठूलो क्षतिबाट जोगिएको गाउँपालिकाले बताएको छ। हाल त्यस क्षेत्रको टोल विकास संस्था, स्थानीयबासी, नेपाली सेना र प्रहरीको सक्रियतामा वैकल्पिक बाटो निर्माण गरी आवतजावतको व्यवस्था गरिएको पालिकाले जनाएको छ।