२३ भदौ काठमाडौँ । केही दिन अघि काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाको शव गोकर्णेश्वर नगरपालिका - १ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएकी महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मृतक सिराहा घर भई काठमाडौं महानगरपालिका ३ बसुन्धारा बस्दै आएकी राम दुलारी छिन्। उनको परिवार तथा आफन्त प्रहरीको सम्पर्कमा आइसकेका छैनन्।
हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका -३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका - ५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको हो।घटनास्थलमा अनुसन्धान गर्दा शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको हो।मृतक राम दुलारी र रामविनय महराबीच दुई वर्षदेखि चिनजान थियो। उनीहरू प्रेम सम्बन्धमा थिए।
रामविनय पुलमुनि बसेर जुत्ता सिलाउँथे भने रामदुलारी मजदुरको काम गर्थिन्।मृतक राम दुलारीले दिनहुँ मापसे गर्ने गरेको र अन्य पुरूषसँग पनि सम्बन्ध रहेको आशंकामा रामविनयले सन्तोषसँग मिलेर हत्या गर्ने योजना बनाएको एसपी अधिकारीले बताए।
दुबै जनाले राम दुलारीलाई घटनास्थलसम्म लगेर उचाइबाट धकेलेर घाइते बनाएको एसपी अधिकारीले बताए।पक्राउ परेका रामविनय र सन्तोषमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।