३१ भदौ काठमाडौँ । वैदेशिक रोजगारको लागि युरोप लगायत विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गगरेको छ ।पिडितलाई उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया,दुवई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेका थिए ।
उक्त ठगीमा पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा गाउँपालिका-१ घर भई काठमाडौं तिलगंगा बस्ने ४४ वर्षीय त्रिलोक कुमार यादव, खोटाङ रावाबेसी गाउँपालिका-३ घर भई काठमाडौं चाबहिल बस्ने २५ वर्षीय रामप्रसाद रिजाल र सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध आरूबारी बस्ने २० वर्षीय सुजन स्याङबो छन्।
त्रिलोक कुमारले ३ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, राम प्रसादले ३ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ र सुजनले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्रिलोक कुमारलाई काठमाडौं बिजुलीबजारबाट, राम प्रसादलाई काठमाडौं चाबहिलबाट र सुजनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।