२ असोज काठमाडौँ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने काम आधा सकिएको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार मुख्य टनले ५४५.५७ मिटर खनिएको छ । यहाँ कुल ११ सय २६ मिटर लम्बाईको मुख्य सुरुङ बन्दै छ ।
बाइपासतर्फ पहिलो बाइपास १५१ मिटर खन्ने योजना छ । यसमध्ये १३७।२ मिटर खन्ने काम सकिएको छ ।बाइपास दोस्रो १६१ मिटरमध्ये ११७ मिटर खनिएको छ ।बाइपास तेस्रोतर्फ १३० मिटरमध्ये १२३.४ मिटर खनिएको आयोजनाले जनाएको छ ।
स्लोप प्रोटेक्सनमा भने धेरै काम अगाडि बढेको छ ।आयोजनाका अनुसार यहाँ दक्षिणतर्फ २३ सय वर्गमिटर स्लोप प्रोटेक्सन गर्नुपर्नेमा १ हजार ४९५ वर्गमिटरमा यस्तो काम भइसकेको छ ।
यो आयोजनाको समग्र भौतिक प्रगति २२.८५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् ।