३ असोज काठमाडौँ ।नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युवा अलराउण्डर गुलशन झा नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट लिनुको साथै ५० भन्दामाथि रन बनाउने पहिलो खेलाडी बनेका छन् ।
नेपाल बिहीबार विहान ओमानसँग १ विकेटले पराजित भएपनि गुलशनले ५३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० भन्दा बढी रन बनाउने उनी २४ औं खेलाडी हुन् । पछिल्लो पटक सन् २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले स्कटल्यान्डविरुद्ध एकदिवसीय विश्वकप छनोट २०२३ जुलाईमा १२३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।
गुलशनले ओमानविरुद्ध ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाउनुको साथै १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए । हारका बाबजुद गुलशन खेलको प्लेयर अफ द म्याच चुनिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९।५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो