१३ असोज काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेका छन् । अध्यक्षले तामाङलाई ‘साहसी युवा’ भन्दै आफ्नै निवास खुमलटारमा बोलाएर सम्मान गरेका हुन् ।
हिजो शनिबार ललितपुर महानगरपालिका–२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए ।
टहराको छानामाथि चढेर आफुलाई बचाउ बचाउ भनेर सहयोग गरेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लँदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए ।
उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेल उत्रिएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ ।
साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटको बेला नै बहादुरहरूको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताए ।