१७ असोज काठमाडौँ । भीषण बाढी र पहिरोले देशका राजमार्गका सडकहरु अवरुद्व भएर बन्द गरिएको छ । यसैकारण यातायात व्यवसायीले दसैंका लागि खुलाएको अग्रिम बुकिङ सेवा बन्द गरेको हो। यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अघोषित रूपमा अग्रिम बुकिङ बन्द गरिएको बताए।
सरकारसँग सहमति गरेर, निर्णय नै गरेर बन्द गरिएको होइन। तर, काठमाडौंबाट देशैभर छुटेका गाडी सडककै कारण ३ दिनसम्म पनि सम्बन्धित ठाउँमा पुग्न सकेका छैनन्। यो कसैको हातमा छैन, मौसम विभागका अनुसार बिहीबारदेखि पुनः पानी पर्ने सम्भावना रहेकाले कहाँको सडक अवरुद्ध हुन्छ रु कहाँ पहिरो जान्छ भन्नै सकिन्न। टिकट काटिसकेपछि सबै यातायात व्यवसायी जिम्मेवार हुनुपर्ने बाध्यता छ।
गाडी समयमा नआएपछि टिकट दिएर के गर्ने रु गाडी आएपछि मात्रै टिकट दिने भनेर निर्णय गरेका छौं।यसैबीच गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबीच बुधबार मन्त्रालयमा छलफल भएको छ। बाढी, पहिरो,डुबानलगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनः सञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल भएको हो।
यातायातको सहज र सुरक्षित सञ्चालन गर्ने, विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका बनाउने विषयमा छलफल भएको थियो।छलफलमा बीपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरूलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएका छन्।