१८ असोज काठमाडौँ ।असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे ।एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो ।
बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ ।गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ ।
केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए ।
तीन सय २७ चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।पर्यटन व्यवसायी समितिका जिल्ला अध्यक्ष विनोद गुरुङले भन्नुभयो, “यो महिना पदयात्राका लागि उपयुक्त महिना हो । त्यसैले पर्यटकको आगमन बढेको छ ।” चामे गाउँपालिका–५ चामेका पर्यटन व्यवसायी उषा लामाले मौसम अनुकूल बन्दै गएपछि पर्यटकक्रम बढेको बताउनुभयो ।