१८ असोज काठमाडौँ । पूर्वपूधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन् ।
बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् ।
आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिए ।
यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए ।
प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो