२० असोज काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको उनले उल्लेख गरे ।
यही असोज १५ गते बसेको एमाले सचिवालय तथा संसदीय दलको बैठकबाट उक्त कोषमा ५० लाख र सांसदहरूको आधा महिनाको तलबबराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरिएको थियो ।