२१ असोज काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेलसहित टोलीले बडादशैंको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।
उनीहरुले मन्दिरमा पुगी पूजारीबाट टीकाप्रसाद ग्रहण समेत गरेका हुन् । काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ।
सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरे।
राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए।राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय तहका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए।