१ कात्तिक काठमाडौँ । दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो ।
त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ ।अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनिय र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् । नयाँ प्रशिक्षक सन्तोष कश्यपले टोली सम्हालेका छन् । यस पटक भारतीय टिममा धेरै खेलाडी परिवर्तन भइसकेको छ ।
मुख्य प्रशिक्षक सन्तोष कश्यपले साफ वुमन्स च्याम्पियनसिप आफ्नो लागि नयाँ भए पनि टिम राम्रो रहेको र लक्ष्य उपाधि जित्ने भएको बताएका छन् ।भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् । अशलताले एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्नका लागि आफू उत्साहित रहेको बताएकी छन् ।उनले पाकिस्तानविरुद्धको पहिलो खेल महत्वपूर्ण हुने बताइन् ।
पछिल्लोपटक सन् २०२२ मा काठमाडौंमै भएको साफ यी दुई टोली समूह चरणमा भिडेका थिए जसमा भारत ३-० ले विजयी भएको थियो ।समूह ए मा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छ । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुग्ने सम्भावना बलियो छ ।उता पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् ।पहिलो खेलमै भारतसँग खेल्नु पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक अदिल रिज्कीले बताए ।