८ पुस काठमाडौँ । ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप टेबलटेनिस प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २३ वडाबाट ६ सय ३७ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक वडा ९ का अध्यक्ष राजु महर्जनले जानकारी गराए ।प्रतियोगितामा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
सबैमा नगद पुरस्कार राखिएको छ । प्रतियोगिता संयोजक सन्जु अवालेले कुल पुरस्कार राशी ३ लाख ६८ हजार रुपैयाँ रहेको बताए ।
वडा अध्यक्ष महर्जनले मेयर कप रात्रीकालीन भएकोले प्रतियोगिताको छुट्टै आकर्षण र महत्व रहेको बताउदै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ८३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । छदिने प्रतियोगिताका खेलहरु पाटनको मःछें टोलमा हुनेछ ।