१७ बैशाख काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।
देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाकै कारण शनिबार दिउँसोदेखि राति अबेरसम्म हवाई उडान प्रभावित भएको थियो ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।