१७ बैशाख काठमाडौ।काठमाडौं महानगरपालिकाले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार विद्यालयको नाम र लोगो नफेरे कार्वाही गर्ने चतावनी दिएको छ । आइतबार महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत विद्यालयको लोगो र नाममा एकरुपता नल्याउनेलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
महानगरपालिकाभित्रका विद्यालयले शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावली ७० को उपनियम १ र २ अनुसार विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याउनुपर्नेछ । ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको छ ।
महानगरको उक्त नियमावलीको नियम ६९ मा विद्यालयको चिन्ह षट्कोणको हुने र विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्ने व्यवस्था गरेको छ । नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनः नामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्नेछ ।नियमावलीको नियम ७० को उपनियम २ मा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा ‘पब्लिक’ शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने व्यवस्था गरेको छ ।