२१ बैशाख काठमाडौ।नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले तीन मन्त्री थपिनुमा सहमति वा विमति नरहेको बताएका छन् ।सांसद गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पुरातन शैलीमै चलेकाले जनता सन्तुष्ट हुने स्थिति नरहेको बताए ।
गौतमले भने, ‘विगत पाँच महिनामा हामी प्रचण्डजीको दौडधुप र हस्याङफस्याङ देखिरहेका छौं । उहाँले भाषण, उद्घाटन र रिबन काटेर समय खेर फाल्नुभयो । अब पनि डेलिभरी नदिने हो भने कसैको पनि फेस भ्यालु हुने देखिँदैन । सरकारले केही पनि दिन सकेको छैन ।
सरकार जसरी चलेको छ, त्यसमा हामी सन्तुष्ट छैनौं । सरकारको कार्यकाल सफल होस्, प्रभावकारी ढंगले चलोस् भन्ने हाम्रो चाहना छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा बदमासी गरेका सबै व्यक्तिहरु अनुसन्धानको दायरामा आउनुपर्ने गौतमले बताए । उनले भने, ‘हामीलाई व्यक्ति वा पार्टीमा रुचि छैन । नीति प्रमुख हो । भ्रष्टाचार त भ्रष्टाचार नै हो नि । २०४६ पछिका भ्रष्टाचारका सबै फाइल निर्ममतापूर्वक खोल्नुपर्छ ।
भ्रष्टाचार गर्नेको नियत खराब छ, नगर्नेको पनि तिनलाई संरक्षण गर्न खोज्ने नियतमा खराबी छ । अख्तियार प्रमुख नै भ्रष्टाचारमा मुछिएपछि कसरी नियन्त्रण हुन्छ ?’सांसद गौतमले जनताको घोर निराशा चिर्न जनमत र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानु उपयुक्त हुन पनि औंल्याए ।