२४ बैशाख काठमाडौ।बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको छ ।भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसको आइतबार प्रकाशित समाचारका अनुसार मुख्यमन्त्री एन विरेन सिंहले शनिबार सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा मुख्यमन्त्री सिंहले क्षतिको यकिन विवरण दिन सकेनन् । यद्यपि, एक्सप्रेसले सरकारी अधिकारीहरूको हवाला दिँदै प्रकाशन गरेको समाचारमा मृतकको संख्या बढेको हुनसक्ने जनाएको छ ।
साथै परिस्थिति नियन्त्रण बाहिर गएपछि आसम राइफल्स र भारतीय सेना परिचालन गरिएको छ । कर्फ्यु जारी भएका क्षेत्रमा सेना र प्रहरीको संयुक्त गस्ती चलिरहेको छ ।मणिपुर राज्यको राजधानी इम्फालबाट प्रकाशित हुने स्थानीय सञ्चार माध्यमहरूका अनुसार राजधानी र चुराचन्दपुर जिल्लाका अस्पतालमा ५० जनाभन्दा बढी मृतकका शवहरू राखिएका छन् ।
चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा १६ शव, इम्फाल पूर्वी जिल्लाको जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा १५ शव र इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रीय अस्पताल रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा २३ जनाको शव राखिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।जनसंख्याको ५२ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको मैतेई समुदायले अनुसूचित जनजातीको हैसियत प्राप्त गरे आफ्नो पाइरहेको अधिकारमा कटौती हुने भन्दै कुकी समुदायले त्यसको विरोध गरेको हो ।