२५ मंसिर काठमाडौँ। मलेसिया सरकारले हालै नेपाली श्रमिकका लागि फ्रि भिसा कार्यक्रम विस्तार गर्दै रोजगारका अवसर खुला गरेपछि १ हजारभन्दा बढी नेपाली युवाले आवेदन दिन लाइन बस्नुपरेको दृश्य सार्वजनिक भएको छ। रोजगारीको खोजीमा भीड लागेको यो अवस्था नेपाली युवा जन्मभूमि छोड्न रमाएर होइन, बाध्यताले विदेशिनुपरेको तीतो वास्तविकता झल्काउँछ।
श्रमिक छनोटका लागि गरिएको प्रक्रियामा देखिएको भीडले देशभित्र रोजगार, सुरक्षा र भविष्यका अवसर कमी भएको स्पष्ट संकेत दिएको आर्थिक तथा श्रम विज्ञहरूको भनाइ छ।नेपालमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, तथा भ्रष्ट नेतृत्वप्रति निराशाले गर्दा युवाहरू स्वतन्त्ररूपमा आफ्नो मुलुकमा केही गर्ने प्रेरणा भन्दा परिवार चलाउन विदेशिनु नै बाध्यता भएको धेरै युवाहरूले व्यक्त गरेका छन्।

एक युवा भन्छन्,“चोर–भ्रष्ट नेताको पछि लाग्नुभन्दा विदेश गएर चुल्हो बाल्न सजिलो लाग्यो। एक माना पिठो जो गर्न पाए परिवारले खाना पाउँछ, त्यसैले यहाँ लाइन बस्नुपरेको हो।”श्रमिकहरूको भनाइले नेपालमा युवा–उद्यम, रोजगारी सिर्जना, सीप कदर, र सुरक्षित वातावरण कायम गर्ने माग अझै सम्बोधन हुन बाँकी रहेको प्रष्ट देखिन्छ।
मलेसियामा माग बढ्दै गएपनि नेपालमा आफ्नै माटोमा बस्ने विकल्पहरू अभाव रहँदा विदेशी रोजगार नै धेरैका लागि अन्तिम सहारा बन्दै गएको छ।विशेषज्ञहरूका अनुसार नेपालको राजनीति र शासन व्यवस्थामा सुधार नभएसम्म देश युवाशक्ति गुमाउने प्रवृत्ति रोकिँदैन।