२५ बैशाख काठमाडौ।गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार गृह मन्त्रालयमा श्रेष्ठ र सङबीच भेटवार्ता भएको हो।भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिन-नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताए। नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ।
दुई देशको सीमा जोडिएका जिल्लाहरूमा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत दुई देशका पदाधिकारीहरूको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।विगतमा सीमाक्षेत्रमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पास प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका बासिन्दाहरूको दैनिक जीवन सहज बनाएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गरे।
राजदूत सङले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिए।सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ छ।चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा भएको पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनमा आवश्यक समन्वय गरिदिन सङले आग्रह गरे।