१३ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। देब्रे खुट्टामा समस्या देखिएपछि उनलाई काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार खुट्टामा अचानक समस्या देखिएपछि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको हो। हाल उनको स्वास्थ्य अवस्थाबारे आवश्यक परीक्षण भइरहेको र चिकित्सकहरूको निगरानीमा उपचार जारी रहेको आचार्यले जानकारी दिए।
चिकित्सकहरूले प्रारम्भिक जाँचपछि थप परीक्षण आवश्यक देखिएको भन्दै केही समय अस्पतालमै राखेर उपचार गर्ने निर्णय गरेका छन्। यद्यपि, उनको स्वास्थ्य अवस्था स्थिर रहेको र चिन्ताजनक नरहेको स्रोतले जनाएको छ।अस्पताल भर्ना भएसँगै लामिछानेका केही सार्वजनिक तथा राजनीतिक कार्यक्रमहरू स्थगित गरिएको र उपचारपछि मात्रै कार्यतालिका तय गरिने रास्वपाले जनाएको छ।
पार्टीका नेताहरू तथा शुभेच्छुकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।रास्वपाका सभापति लामिछाने पछिल्लो समय सक्रिय राजनीतिक गतिविधिमा व्यस्त रहँदै आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार आराम र उपचारलाई प्राथमिकता दिइएको बताइएको छ।