२२ माघ गोरखा । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गोरखा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले चुनावी अभियानलाई तीव्र बनाएका छन्। अभियानका क्रममा उनी गोरखा बजारस्थित एक कपडा पसलमा पुगेर डमि संग नाच्दै मत मागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
पसलमै मतदातासँग भेटघाट गर्दै गुरुङले ‘डमि सङ’ (प्रचार गीत) बजाउँदै समर्थन र मत मागेका थिए। उनले स्थानीय व्यापारी तथा सेवाग्राहीहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा, विकासका योजना तथा राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।
गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्। उनले अभियानका क्रममा मतदातासँग नजिकिएर प्रत्यक्ष रूपमा समस्याहरू सुन्ने र समाधानका उपायबारे छलफल गर्ने आफ्नो शैली रहेको बताए। “जनताको बीचमै पुगेर संवाद गर्नु नै मेरो प्राथमिकता हो,” उनले भने।
स्थानीय व्यापारीहरूले पनि उम्मेदवारसँग क्षेत्रको विकास, रोजगारी, बजार व्यवस्थापन लगायत विषयमा जिज्ञासा राखेका थिए। गुरुङले मतदाताको सुझाव र अपेक्षालाई आफ्नो अभियानको मुख्य आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा गोरखा क्षेत्रमा उम्मेदवारहरूको घरदैलो तथा प्रत्यक्ष भेटघाट कार्यक्रम बढ्दै गएको छ।