२३ माघ काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएका लेखनाथ न्यौपानेले आफ्नो ३६ वर्ष लामो राजनीतिक जीवनमा कमाएको सामाजिक सम्पत्तिलाई नै सबैभन्दा ठूलो पूँजी भएको बताएका छन्।
एक संवाद कार्यक्रममा बोल्दै उम्मेदवार न्यौपानेले राजनीति आफूका लागि पद, पैसा वा शक्ति आर्जन गर्ने माध्यम नभई समाज परिवर्तन र जनसेवाको अभियान भएको स्पष्ट पारे। “मेरो ३६ वर्षको राजनीतिक जीवनमा कमाएको सामाजिक सम्पत्ति यही हो,” उनले भने, “जनताको विश्वास, साथ र मायाभन्दा ठूलो कुनै सम्पत्ति हुँदैन।”
न्यौपानेले विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो राजनीतिक यात्रामा सधैँ श्रमिक, किसान, युवा र उत्पीडित वर्गको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरे। कठिन परिस्थितिमा पनि जनतासँगै बसेर काम गरेको अनुभव नै आजको उम्मेदवारीको आधार भएको उनको भनाइ थियो।
उनले गोरखा क्षेत्र नम्बर २ का विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनका सवालमा आफू स्पष्ट दृष्टिकोणसहित अघि बढेको बताए। “यो निर्वाचन केवल मेरो मात्र होइन, सम्पूर्ण क्षेत्रवासीको साझा लडाइँ हो,” भन्दै उनले जनताको सक्रिय सहभागिता र समर्थन आवश्यक रहेको जोड दिए।
नेता न्यौपानेले चुनाव जितेपछि संसदमा जनताको आवाज बुलन्द रूपमा उठाउने, विकासका काममा पारदर्शिता कायम गर्ने र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे।फागुन २१ गते हुने निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिँदै उनले गोरखा क्षेत्र नम्बर २ का मतदातालाई सचेत र जिम्मेवार निर्णय गर्न आग्रहसमेत गरे।