२६ वैशाख काठमाडौं ।सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । उक्त ऐन संशोधन ड्राफ्ट करिब दुई हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको छ ।
‘सरकारले महिलालाई ९८ दिन सुत्केरी बिदा दिँदै आएको छ, जुन पर्याप्त छैन ।धेरै महिला काम बाहिर जाने हुँदा आमाको दूधको विकल्पमा बजारमा पाइने बट्टाको दूध वा लिटो खुवाउने प्रचलन बढ्दै गएको छ । तर, बच्चालाई चाहिने पोषकतत्व अन्य वस्तुबाट पाइँदैन,’ डा. श्रेष्ठले थपिन्, ‘आमाले स्तनपान गराउनका लागि अनिवार्य रुपमा ६ महिना बिदा दिने प्रस्ताव राखेका हौं ।’
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ तथ्यांकले नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घटिरहेको देखाउँछ । शिशु जन्मिएदेखि पाँच महिनासम्म एक सय जना सुत्केरी आमामध्ये ५६ जनाले मात्रै स्तनपान गराउँछन् भने ४४ जनाले र्फमुला (कृत्रिम) वा गाईभैँसीको दूध खुवाउँछन् ।आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध र बिगौती दूध उत्पादनमा सहयोग पुग्दछ । बिगौती दूध एकदमै पोषिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ का रूपमा पनि लिइन्छ ।
बच्चाको प्राचनप्रणाली धेरै कमजोर हुने भएकाले आमाको दूधबाहेक अन्य वस्तु पच्दैन । स्तनपानमा पचाउन सक्ने हिसाबले चाहिने पोषकतत्व प्राप्त हुने वरिष्ठ पोषणविद् डा.मनषा थापा ठकुराठी बताउँछन् । ‘पूर्णरुपमा ६ महिनासम्म स्तनपान गराउँदा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो । बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलका अनुसार बट्टाको दूध सेवन गर्ने शिशुहरु भन्दा स्तनपान गर्ने शिशुहरुको बौद्धिक शक्तिको विकास राम्रो हुन्छ ।