२ फागुन गोरखा । नेपाली कम्युनिष्ट पार्टीका गोरखा क्षेत्र नं.२ का उम्मेदवार लेखनाथ न्यौपानेले जनता कुनै एक दलको मात्र नभई सबैको साझा भएको बताएका छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै उनले भोट कसलाई हाल्ने भन्ने निर्णय गर्न जनता पूर्ण रूपमा स्वतन्त्र रहेको बताएका हुन्।
चुनावी प्रचारप्रसारका क्रममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यौपानेले लोकतन्त्रको मूल आधार नै जनताको स्वतन्त्र निर्णय भएको उल्लेख गरे। “जनता सबैको हो, भोट कसलाई हाल्ने भन्नेमा जनता स्वतन्त्र हुन्छन्,” उनले भने, “हामीले जनताको विश्वास जित्न काम, नीति र कार्यक्रममार्फत प्रयास गर्ने हो।”
उनले आफ्नो उम्मेदवारी विकास, सुशासन र जनउत्तरदायी नेतृत्वका लागि भएको दाबी गर्दै क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सेवा सुधार तथा रोजगारी सिर्जनामा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। साथै स्थानीय आवश्यकता र जनताको सुझावलाई केन्द्रमा राखेर योजना कार्यान्वयन गरिने बताए।
अभियानका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो तथा सभाहरूलाई निरन्तरता दिएका छन्। स्थानीय बासिन्दाहरूले पनि विकास, सेवा प्रवाह र रोजगारीका विषयमा आफ्ना धारणा राख्दै उम्मेदवारसँग अपेक्षा व्यक्त गरेका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै क्षेत्र नं. २ मा विभिन्न दलका उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाइरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा मतदातालाई आकर्षित गर्न उम्मेदवारहरू घरदैलो, सभा र अन्तरक्रियामा सक्रिय देखिएका छन्।
उनका अनुसार जनतालाई केन्द्रमा राखेर विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम ल्याउन सके मात्र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे। उनले मतदातालाई आफ्नो अधिकार प्रयोग गर्दा सचेत र जिम्मेवार बन्न आग्रह पनि गरे।राजनीतिक सचेतना बढेसँगै मतदाताहरू स्वतन्त्र रूपमा निर्णय लिन सक्षम बन्दै गएको उनको भनाइ छ। लोकतन्त्रको मर्म अनुरूप नागरिकको स्वतन्त्रता र मताधिकारको संरक्षण सबैको साझा दायित्व भएको उनले जोड दिए।