४ फागुन काठमाडौँ । सर्वसाधारण बनेर नेकपा नेतामाथि प्रश्न गर्ने महिला रास्वपा नेतृ रहेको खुलासा भएको छ । उनले एक टेलिभिजन कार्यक्रममा सर्वसाधारण र पीडित नागरिकका रूपमा प्रस्तुत भई नेकपा नेतामाथि प्रश्न गरेर सामाजिक सञ्जालमा भाइरल बनेकी महिला वास्तवमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की स्थानीय नेतृ रहेको खुलासा भएको छ।
कार्यक्रममा उनले “मैले आजसम्म एउटा लुगा फेर्न सकेको छैन, तर तपाईंहरूले ३–३ पटक पार्टी फेर्नु भयो” भन्दै तीखा प्रश्न उठाएकी थिइन्। उक्त अभिव्यक्तिपछि भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भएको थियो।
तर पछि प्राप्त विवरणअनुसार, लक्ष्मी अर्याल नामकी ती महिला केवल सर्वसाधारण नागरिक मात्र नभई धादिङ स्थित सिताली गाउँपालिका–६ निवासी तथा रास्वपाकी स्थानीय तहकी नेतृ रहेको खुलेको हो। उनी पार्टीको स्थानीय कमिटीमा उपसभापतिको भूमिकामा रहेको बताइएको छ।
यस घटनाले कार्यक्रममा सहभागीको परिचय र भूमिकाबारे पारदर्शिता हुनुपर्ने विषयमा बहस सुरु भएको छ। कतिपयले सर्वसाधारणको प्रतिनिधित्वका नाममा राजनीतिक आबद्धता लुकाइएको भन्दै आलोचना गरेका छन् भने समर्थकहरूले भने प्रश्न उठाउने अधिकार सबैलाई हुने बताएका छन्। यस विषयमा सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ।