११ फागुन काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) प्रालिले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान सावित्रा भण्डारी(साम्बा) को निःशुल्क उपचार गर्ने भएको छ । साम्बा पछिल्लो सात हप्तादेखि घुँडाको चोटको कारण मैदान बाहिर रहेकी छिन् । यस अघि कतारको अस्पेटारमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण साम्बाले सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेपछि केएमसीले निःशुल्क उपचार गर्ने भएको हो ।
सोमबारमात्रै साम्बाले सामाजिक सञ्जाल मार्फत उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने भन्दै सहयोगको अपिल गरेकी थिइन् । राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ ।

अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले भने ।उत्कृष्ट र अत्याधुनिक उपकरण, दक्ष जनशक्तिका साथ गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको आफ्नो कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाको उपचार प्रक्रियाको गाम्भिर्यतालाई मध्यनजर गर्दै साम्बाको उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको बताएको छ ।