१७ फागुन काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि संसद् र नयाँ सरकार आउने भन्दै ‘जेनजी’ आन्दोलनले ‘हार्नु नहुने’ बताएका छन् ।आइतबार (फागुन १७) नुवाकोटको विदुरमा आयोजित पार्टीको चुनावी सभामा उनले जेनजी आन्दोलनका नाममा धेरैले राजनीतिक लाभको खोजी गरिरहेको टिप्पणी गरे । नयाँ सरकारका कदमबाट जेनजी आन्दोलनले हार्ने अवस्था आउन सक्नेप्रति मतदाता नै सचेत हुनुपर्नेमा उनले जोड दिए ।
नयाँ सरकारले सहिदका सपना साकार पार्न नसके त्यसले वितृष्णा जन्माउने उनले चेतावनी दिए । “यो निर्वाचनको परिणाम आउँदै गर्दा त्यसले नयाँ संसद् र सरकार त दिन्छ, तर त्यसपछि सहिदको सपनाले हार्नु हुन्न । सहिदकी आमाले पछुताउने अवस्था आउनुु हुन्न,” थापाले भने, “अब आउने सरकारले एक सेकेन्ड पनि समय तलमाथि हुन दिनु हुन्न । राष्ट्रको ढुकुटीबाट एक रुपैयाँ पनि तलमाथि हुनु हुन्न । यदि, कांग्रेसको कसैले तलमाथि गर्छ भने त्यो कांग्रेसको सदस्य हुनुहुन्न ।
उनले जेनजी आन्दोलनको माग भ्रष्टाचार निवारण गर्दै सुशासन र विकास भएको बताए । कांग्रेसले विगतमा कमजोरी गरेको स्वीस्कार गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पानीमाथिको ओभानो नभएको जिकिर गरे ।