१८ फागुन काठमाडौँ । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा घाइते मतदान अधिकृत अधिकृत डोरप्रसाद घिमिरे पनि मृत्यु भएको छ । उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो ।उनी रामेछाप नगरपालिका-३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयका शिक्षक हुन् । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइते ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।गाडीमा निर्वाचनका कर्मचारी र निर्वाचन सामग्रीहरू थिए ।
यी हुन् घाइतेहरू
१)भीमबहादुर मानन्धर शिक्षक
२)सम्बर बहादुर मानन्धर ड्राइभर
३)कृष्णप्रसाद घिमिरे शिक्षक
४)दुर्गा कार्की
५)सविना खड्का
६)केदार कुमार रोका
७)पूजादेवी सुनुवार