२५ फागुन गोरखा । गोरखाको धार्चे गाउँपालिका–३ खोर्लामा जलविद्युत आयोजना सञ्चालनका लागि सर्भेक्षण गर्ने क्रममा जमिनमुनिबाट ग्यास निस्किएको छ।नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रा. लि.ले आयोजना सम्भाव्यता अध्ययनका लागि ड्रिलिङ (खन्ने) कार्य गरिरहेको बेला जमिनको सतहभन्दा करिब ५० मिटर तल पुग्दा ग्यास निस्किएको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासी प्रदीप खत्रीका अनुसार सर्भेक्षणका क्रममा १५० मिटर गहिराइसम्म खन्ने लक्ष्य राखिएको थियो। तर ५० मिटर तल पुग्नेबित्तिकै पाइपबाट एक्कासि ग्यास निस्किन थालेपछि काम रोकिएको हो।
उनले भने, “१५० मिटर तलसम्म खन्ने लक्ष्य थियो। ५० मिटर तलसम्म खन्ने वित्तिकै पाइपबाट ह्वार्रह्वार्र ग्यास निस्किन थाल्यो। हिजो (आइतबार) ग्यास निस्किएको हो। ग्यास निस्किन थालेपछि काम रोकिएको छ।”स्थानीयका अनुसार ग्यासको गन्ध निकै तीव्र भएकाले वरिपरि बस्नसमेत समस्या भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै हाल सर्भेक्षण कार्य अस्थायी रूपमा रोकिएको बताइएको छ।
ग्यासको प्रकृति र यसको स्रोतबारे स्पष्ट जानकारी लिन प्राविधिक टोलीमार्फत थप परीक्षण तथा अध्ययन गर्ने तयारी गरिएको सम्बन्धित पक्षले जनाएको छ। स्थानीय प्रशासन र प्राविधिक टोलीले घटनाबारे निगरानी गरिरहेको बताइएको छ।