२८ फागुन काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयानका आधारमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार पोस्टमार्टम रिपोर्टमा मृतकको संवेदनशील अंगमा गम्भीर चोट, पाठेघर च्यातिएको र अत्यधिक रक्तस्राव भएको उल्लेख गरिएको छ। कर्णाली प्रदेश अस्पतालका तीन जना चिकित्सक र भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोलीले तयार पारेको रिपोर्ट बुधबार प्राप्त भएको हो।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकामध्ये एकजना मृतक इनिशासँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। पक्राउ परेका सबैजना १८ वर्षमुनिका नाबालक रहेको प्रहरीले जनाएको छ।
फागुन २३ गते बिहान प्रयोगात्मक कक्षा छ भन्दै घरबाट निस्किएकी इनिशा बिहान ८ बजेसम्म घर फर्किने भन्दै गएकी थिइन्। तर बिहान ९ बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। त्यसपछि अपरिचित नम्बरबाट फोन गर्दै ‘तपाईँकी छोरी शहीद पार्क नजिकको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्ने जानकारी आएको इनिशाकी आमाले बताएकी छन्।
वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा इनिशा रक्ताम्मे अवस्थामा भेटिएकी थिइन्। घटनास्थलमा उनको कपाल लुछिएको, घाँस मडारिएको, एकातिर जुत्ता र अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको थियो। गम्भीर अवस्थामा भेटिएकी उनलाई उपचारका लागि लगिए पनि बचाउन नसकिएको जनाइएको छ।घटनास्थलबाटै वीरेन्द्रनगर–९ का एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा अन्य तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मृतकका आफन्तले इनिशामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन्। उनीहरूले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान समेत लिएका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको र दोषी ठहरिएकालाई कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।