५ चैत काठमाडौं । प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयको नेतृत्व अनुभवी प्रशासक प्रदीप परियारले सम्हाल्ने भएका छन्। प्रशासनिक दक्षता र कार्यकुशलताका लागि परिचित परियारले कम उमेरमै उल्लेखनीय उपलब्धि हासिल गर्दै ३२ वर्षकै उमेरमा सहसचिव पदमा नियुक्ति पाएका थिए, जसलाई विशेष रेकर्डका रूपमा हेरिएको छ।
लामो समयदेखि निजामती सेवामा सक्रिय रहँदै आएका परियारले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। नीतिगत स्पष्टता, द्रुत निर्णय क्षमता र कार्यान्वयनमा अनुभवका कारण उनलाई बालेन नेतृत्वको सचिवालयमा प्रमुख जिम्मेवारी दिइएको बताइएको छ।
बालेन नेतृत्वमा बन्ने सरकारका लागि सक्षम, दक्ष र परिणाममुखी टिम निर्माण गर्ने रणनीति अनुसार सचिवालयमा पनि अनुभवी र योग्य जनशक्ति ल्याउने प्रयास भइरहेको छ। स्वकीय सचिवालय प्रधानमन्त्रीको कार्यसम्पादन, अन्तर(निकाय समन्वय तथा नीतिहरूको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण रहने भएकाले उक्त जिम्मेवारी अनुभवी अधिकारीलाई दिइएको बुझिएको छ। नयाँ सरकार गठनको तयारीसँगै सचिवालय संरचना मजबुत बनाउने काम तीव्र पारिएको स्रोतले जनाएको छ।