८ चैत काठमाडौँ । उत्तरी गोरखाको निर्वाचन क्षेत्र गोरखा–१ अन्तर्गत पर्ने सांसद सुदन गुरुङ को गृहपालिकामा अझै पनि आधारभूत पूर्वाधारको अभाव झल्किने दृश्य देखिएको छ। गुरुङ यशी फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनी भारी मतले निर्वाचित भएका हुन् । झोलुंगे पुल निर्माणका लागि ल्याइएका सामग्री स्थानीय बासिन्दाले आफ्नै काँधमा बोकेर दुर्गम स्थानसम्म पुर्याउनुपर्ने बाध्यता रहेको छ।
सम्बन्धित वडामा सडक सञ्जाल नपुगेकाले निर्माण सामग्री ढुवानीका लागि कुनै वैकल्पिक साधन उपलब्ध छैन। फलस्वरूप सिमेन्ट, फलामका सामग्री, र अन्य उपकरणहरू स्थानीयहरूले घण्टौँ हिँडेर बोक्नुपरेको छ। यसले निर्माण कार्य ढिलो हुनुका साथै स्थानीयको दैनिक जीवनमा थप कठिनाइ थपिएको छ।
स्थानीयवासीका अनुसार पुल निर्माण भएमा गाउँबीचको आवतजावत सहज हुने, विद्यार्थी र बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। तर, सामग्री ढुवानीकै समस्या समाधान नहुँदा काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
स्थानीय सरकार र सम्बन्धित निकायले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठ्दै आएको छ। सांसद सुदन गुरुङ को गृह क्षेत्रमै यस्तो अवस्था हुनु विकासको असमानताको उदाहरण भएको भन्दै नागरिकहरूले चासो व्यक्त गरेका छन्।सरकारले दुर्गम क्षेत्रमा सडक पहुँच विस्तार र निर्माण सामग्री ढुवानीका लागि सहजीकरण नगरेसम्म यस्ता परियोजनाहरू प्रभावकारी रूपमा सम्पन्न हुन नसक्ने देखिन्छ।