१० चैत काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ सौरपानीस्थित हुँण्डीफाटमा निर्माण गरिएको १५ सैयाको “जनयुद्धका महान शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल” सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।
स्थानीयवासीको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले निर्माण गरिएको उक्त अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ। आधुनिक संरचना र आवश्यक पूर्वाधारसहित तयार पारिएको अस्पताल अब केही समयभित्रै औपचारिक रूपमा सेवा सञ्चालनमा आउने तयारी भइरहेको सम्बन्धित पक्षले जनाएको छ।
यस अस्पताल सञ्चालनमा आएपछि बारपाक सुलिकोट गाउँपालिकाको ८ वटै वडा सौरपानी, स्वाँरा, ताकुकोट, लाकुरीबोट, पन्द्रुङ्ग, देउराली र बारपाक का सर्वसाधारणले ईमर्जेन्सी शल्यकृया तथा आधारभूत स्वास्थ्य सेवा आफ्नै आँगनबाट प्राप्त गर्ने अपेक्षा गरिएको छ। हालसम्म सामान्य उपचारका लागि टाढा–टाढासम्म धाउनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाका लागि यो अस्पताल ठूलो राहत बन्ने विश्वास गरिएको छ।
स्थानीय तह तथा सम्बन्धित निकायले अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण जडान तथा सेवा सञ्चालनका अन्य तयारीहरूलाई तीव्रता दिएका छन्। अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँ बिशेषज्ञ चिकित्सक सेवा सहित प्राथमिक उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायतका आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ।
स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले यस अस्पताललाई क्षेत्रकै महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा पाएको बताएका छन्। उनीहरूका अनुसार सेवा सुरु भएपछि यस क्षेत्रको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ।